साल फेरियो, पाल फेरिएन
काठमाडौं– भूकम्प स्मृति दिवस (वैशाख १२) का दिन राष्ट्रपति तथा प्रधानमन्त्रीले पुनर्निर्माण अभियान थालनी गर्दैगर्दा चुच्चेपाटीस्थित भूकम्पपीडित शिविरकी लक्ष्मी तामाङ खुम्चिएको त्रिपाल तन्काउँदै थिइन्। नुवाकोट, बेतनीस्थित घर भूकम्पले भत्काएपछि तामाङले यही त्रिपालमुनि वर्षभरि घामपानी र शीत झेलिन्। तर, राज्यबाट कुनै भरथेग पाइनन्। साल फेरियो तर उनको पाल फेरिएन।
'पहिले र अहिले केही फरक छैन,' उनले भनिन्, 'वर्ष मात्र फेरियो, हाम्रो दुःखै उस्तै छ।' चर्खामा धागो कातेर गुजारा चलाउँदै आएकी छन् तामाङ। मक्किएको पालमुनि वैशाख–जेठको चर्को घाम झेल्नु कम्ती सकस छैन। तर, योभन्दा पनि चिन्ता बर्खे भेलको छ उनलाई।
'घाम त कसै गरी सहुँला,' उनले भनिन्, 'तर, थोत्रिसकेको पालले बर्खा कसरी थेग्ला?' खान–लाउनभन्दा पनि सुरक्षित बासको आसमा छिन् उनी।
तामाङले यसो भन्दै गर्दा केही पर विदेशी पत्रकार समाचार संकलन गर्दै थिए। भूकम्पपछि पटक–पटक नेपाल आइसकेका उनले यो अवधिमा पीडितको जीवनमा केही परिवर्तन नआएको सुनाए। 'म पाँच महिनाअगाडि आउँदा जस्तो थियो अहिले पनि उस्तै देख्दै छु,' उनले भने। राज्यले गर्नुपर्ने सामान्य काम पनि नगरेको उनलाई लागेको छ। 'यहाँको सरकार के हेरेर बसेको रहेछ?', उनले प्रश्न गरे, 'नानीहरू विद्यालय गएका छैनन्, बूढाबूढी बिरामी पर्न थालेका छन्।'
उनले भनेजस्तै वर्षदिन बित्दा पनि भूकम्पपीडितको अवस्था सुध्रन सुकेको छैन। राजधानीकै शिविरमा यो हबिगत हुँदा देशका कुनाकाप्चामा रहेका पीडितको अवस्था झन् कस्तो होला? उपत्यकाका ४७ वटा अस्थायी शिविरमा करिब १० हजार ५ सय पीडित आश्रित छन्। घाम, पानी र शीतले सकसै–सकसमा वर्षदिन गुजारेका उनीहरू फेरि त्यही चक्रमा फस्दै छन्। सरकारले बेवास्ता गर्दा पालसँगै उनीहरूको मन पनि फाटेको छ।
घर भत्किएपछि धादिङ, भांग्रामै अस्थायी शिविरमा बस्दै आएकी फूलमाया छोरी जन्मेलगत्तै पुस दोस्रो साता राहत खोज्दै राजधानी आइन्। त्यति बेलै एक सरो त्रिपालबाहेक उनले अरू केही पाउन सकेकी छैनन्। त्यो पनि घामपानीले मक्किइसकेको छ। अब उनलाई चिन्ता छ– बर्खा कसरी धान्ने?
त्यसो त थोत्रो त्रिपालमुनि चर्को घाम झेल्नै सकस छ अहिले। चुच्चेपाटी शिविर पस्दा १३ दिनकी छोरी अहिले बामे सर्न थालिन्। उनलाई जोगाउनु छ। 'दुःखको एक फेरो पार गर्यौंट,' उनले भनिन्, 'त्यही दुःखले दोहोर्याबएर गाँज्दै छ, बर्खा नजिकिँदै छ, कसरी धान्ने हो थाहा छैन।'
शिविरमा थुप्रै मान्छे आए पनि उनीहरू आश्वासन मात्र दिएर फर्किए। विभिन्न संघसंस्थाका प्रतिनिधि, विदेशी नागरिकसम्म उनीहरूका दुःख बु‰न पुगे तर सरकारी प्रतिनिधि शिविर पसेको पीडितलाई थाहा छैन।
'बेलायती राजकुमार शिविरभित्रै आएर दुःखसुख सोधेर गए,' भक्तपुर, व्यासीस्थित शिविरमा बस्दै आएकी सानुमाया कोजूले भनिन्, 'सिंहदरबारमा बस्ने सरकार आएन।' घर भत्केयता शिविरमा आश्रय लिँदै आएकी उनलाई यहाँबाट कहाँ जाने, टुंगो छैन। 'कुनै उपाय देखिन्न,' उनले भनिन्, 'कहिलेसम्म यहाँ बस्नुपर्ने हो, थाहा छैन।'
भक्तपुरमा तीन हजारभन्दा बढी पीडित शिविरमा कष्ट झेलिरहेका छन्। भूकम्पले भक्तपुरका २८ हजार ६ सय ९१ घर ध्वस्त पार्दा ३ सय ३३ जनाको मृत्यु भएको थियो। गरुडकुण्डल, कमलविनायक, च्याम्हसिंह, ब्यासी, देकोचा, इन्›ायणीलगायत स्थानमा अस्थायी टेन्ट, टहरा हालेर पीडित बसिरहेका छन्। कहिले आँधी–हुरी, कहिले भेलबाढी त कहिले ठिही झेल्दै उनीहरूले वर्षदिन बिताइसकेका छन्।
यस्तै दुखेसो पोख्छिन्, ब्यासीस्थित शिविरकी मंगललक्ष्मी शाही। अघिल्लो महिना चर्को आँधी–हुरीले उनलाई अत्यायो। 'आँधीबेहरीले त्रिपाल उडाएपछि केटाकेटी रुँदै 'आमा, घर जाउँ्क' भन्न थाले,' उनले भनिन्, 'घर भूकम्पले भत्काइसक्यो, कहाँ लिएर जाउँ यिनीहरूलाई!' पोहोर बर्खामै चुहिएको त्रिपाल अझै नफेरिएको उनी सुनाउँछिन्।
बौद्धस्थित शिविरमा बस्दै आएकी ७० वर्षीया संगु सेर्पिनी जिन्दगीमा यस्तो दुःख यसअघि कहिल्यै नभोगेको बताउँछिन्। सिन्धुपाल्चोक, तातोपानीमा रहेको घर भत्कँदा घाइते भएकी उनी चार महिना थला परिन्। त्यसपछि शिविर आएकी उनी त्रिपालमुनिको बसाइ निकै पीडादायी रहेको सुनाउँछिन्। 'अरू दुःख त छँदै छन्, त्रिपालमुनि सर्प, भ्यागुतासमेत आए, हाम्रो यस्तो बिजोग हुँदा पनि सरकार आएन,' उनले भनिन्, 'सरकारले नै नहेरेपछि अब कसको आस गर्ने?'
लामो समय त्रिपालमुनि बस्नुपर्दा पेम्बाडोमा शेर्पा पनि निराश छिन्। तीन छोरीका आमा उनलाई आफ्नो भन्दा पनि सन्तानको चिन्ता ज्यादा छ। 'त्रिपाल हुरीले उडाएर च्यातेको छ,' भन्छिन्, 'कालो बादल मडारिँदा डर लाग्छ, बर्खामा के पो गर्ने होला?'
भूकम्पपीडित महासंघका अध्यक्ष सोमप्रसाद भण्डारी उपत्यकाका शिविरमा जस्तै भूकम्प अतिप्रभावित १४ जिल्लाकै सर्वसाधारण निरन्तर सकसमा रहेको बताउँछन्। पीडित लामो समयदेखि सरकारको बाटो हेरिरहेछन् तर उनीहरूको दुःख जहाँको त्यहीँ छ। 'वर्षदिन बित्दा पनि छानो पाउन सकेनन्,' उनले भने, 'पीडित सरकारसँगै निराश छन्।'
साल फेरियो, पाल फेरिएन
Reviewed by marumala srinu
on
8:04 PM
Rating:
Reviewed by marumala srinu
on
8:04 PM
Rating:

No comments: