एआईजीद्वारा हेडक्वार्टरलाई बाईबाई प्रहरीको सरुवा बढुवा समेत शक्तिकेन्द्रहरुको छायाँ
काठमाडौं । नेपाल प्रहरीमा आईजीपी र एआईजीबीचको झगडा उत्कर्षमा पुगेको छ । जसरी चार वर्ष अगाडि रमेशचन्द ठकुरी र रविन्द्रप्रताप शाहबीच कटुता मौलाएको थियो, अहिले ठ्याक्कै त्यस्तै अवस्था आएको छ । आईजीपी उपेन्द्रकान्त अर्याल र एआईजी राजेन्द्रसिंह भण्डारीको मित्रता दुश्मनीमा परिणत भएको छ ।
त्यही कटुताका कारण विदेश भ्रमणमा निस्कँदा आईजीपी अर्यालले दोस्रो वरियताका एआईजी सुरेन्द्रबहादुर शाहलाई निमित्तको जिम्मेवारी दिएका छन् । यसले पनि प्रहरी नेतृत्वभित्रको गुटबन्दी प्रष्ट भएको छ । बेलायत प्रहरीको निमन्त्रणमा आईजीपी अर्यालसहित चार अधिकारी शनिबार बेलायत भ्रमणमा निस्किएका छन् ।
यसरी आईजीपी भ्रमणमा निस्कँदा १ नम्बरमा रहेका एआईजीले विदाई गर्ने चलन छ । तर भण्डारीले कुनै मतलब गरेनन् । दोस्रो नम्बरमा रहेका एआईजी सुरेन्द्रबहादुर शाह अर्यालको बिदाईमा गए र उनले निमित्त आईजीपीको जिम्मेवारीसमेत पाएका छन् ।
स्रोतका अनुसार भण्डारीको राष्ट्रिय सुरक्षा परिषद्मा सरुवापछि उनको प्रहरी संगठनसँगको सम्बन्ध लगभग टुटेको छ । प्रहरीका कुनै पनि कार्यक्रममा उनी सहभागी हुन छाडेका छन् । गत साता अञ्चल प्रहरी कार्यालयका इन्चार्जहरुको बैठकमा पनि उनी सहभागी भएनन् ।
प्रहरीको नीति निर्माण परिषद्को बैंठकमा समेत उनी भाग लिन छाडेका छन् । प्रहरी मुख्यालयलाई उनले लगभग बाईबाई गरिसकेका छन् । पहिलो नम्बरका एआईजीलाई सरकारले रोजेर पोष्टिङ दिनुपर्ने हो । तर आफूलाई कारबाही गरेजस्तो गरी सुरक्षा परिषद्मा थन्क्याएपछि एआईजी भण्डारी आईजीपीसँग रिसाएका छन् ।
तर आईजीपीले भने भण्डारीले नै रोजेर उनी परिषद्मा गएको बताउने गरेका छन् । क्षमतावान एआईजी भएपछि घमण्डी स्वभावका कारण भण्डारी संगठनमा लोकप्रिय छैनन् । उनको घमण्ड र आईजीपी अर्यालको ढोंगी स्वभावका कारण प्रहरी संगठन नै यतिबेला अस्तव्यस्त भएको छ ।
दृष्टिका अनुसार आईजीपीले क्षमताअनुसार एआईजीको पोष्टिङ गर्न सकेनन् भने एआईजीहरुले पनि आईजीपीलाई सहयोग नगर्दा प्रहरी संगठन नै कमजोर हुन पुगेको छ । एआईजीहरुले राजनीतिक लबिङ गरेर आफूलाई फाल्नसक्ने चिन्ता आईजीपीको छ ।
शक्ति बस्नेत गृहमन्त्री भएपछि सुरेन्द्रबहादुर शाहलाई आईजीपी बनाउने प्रस्तावमा छलफल अघि बढिसकेको समेत थियो । तर पछि रोकियो । त्यस्ता अनेक खेल भइरहेको थाहा पाएपछि आईजीपी अर्यालले पनि शक्ति केन्द्रहरुलाई रिझाउन उनीहरुको सिफारिस नकार्न सकेका छैनन् । त्यही कारण पछिल्लो समय प्रहरीको सरुवा बढुवामा समेत शक्तिकेन्द्रहरुको छायाँ देखिन थालेको छ ।
Reviewed by marumala srinu
on
11:43 PM
Rating:

No comments: